Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

तिहारको चौथो दिन : आज गाई, गोरु र कृषकको पूजाआजा गरि मनाइँदै

तिहारको चौथो दिन : आज गाई, गोरु र कृषकको पूजाआजा गरि मनाइँदै

  • शुक्रवार, कार्तिक १९ २०७८

  • 563
    SHARES

  • तिहारको चौथो दिन : आज गाई, गोरु र कृषकको पूजाआजा गरि मनाइँदै

    काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखि नै चल्दै आएको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले सनतान धर्मावलम्वीले गाईलाई ‘गौमाता’ भनी सम्मान गर्ने गर्छन् ।

    गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने मान्यता समेत छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

    आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

    यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ।

    आज घरको आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।


    शुक्रवार, कार्तिक १९ २०७८०७:३०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij